गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको काम धमाधम

२० आश्विन २०८१, आईतवार ११:५४

काठमाडौं । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौं उपत्यका भित्रकै सबैभन्दा बढी प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको लागि सिंगो टिम सक्रिय भएको बताएका छन् ।

उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरु, ट्रयाकहरु खोल्ने कामहरु अगाडि बढाएको जानकारी दिए ।

उनले भने,‘उपत्यका कै सबैभन्दा बढी प्रभावित क्षेत्र गोदावरी हो । त्यसमा पनि ६ र ७ नं वडा अलि धेरै प्रभावित छन् । पहिलो चरणमा राहत र पुर्नस्थापनाको लागि नगरपालिका सिंगो टिम सक्रिय छौं । तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरु ट्रयाकहरु खोल्ने कामहरु अगाडि बढाएका छौं । सबै वडामा करिब खुलिसकेको छ भने यो ७ नं मा खोल्न गाह्रो भएको छ । यसलाई पनि दुईचार दिनभित्र सबै बस्तीमा पुग्नेगरी बाटो खोल्ने छौं ।’

उनले गोदावरीमा खानेपानीको समस्या एकदमै धेरै रहेको भन्दै खानेपानीको व्यवस्था गर्न अलि बढि समय चाहिने बताए ।उनले भने,‘दशैंतिर लगत्तै पुननिर्माणको काम सुरु गर्ने छौं । अर्को खानेपानीको समस्या छ । विद्युत प्राधिकरणको काम भइरहेको छ । अलिकति समय चाँही यो खानेपानीमा लाग्ने देखियो ।’