“सीएनएन हिरो” प्रदेश प्रमुख ?

३ माघ २०७४, बुधबार ११:४८

मन्जिल कन्दङ्वा

माघ ३, काठमाडौं ।

आज बिहानै बालुवाटारमा समाजसेवी अनुराधा कोइराला प्रदेश नम्बर ३ को प्रदेश प्रमुख नियुक्त हुन लागेको चर्चा चल्यो ।
तर, प्रदेश प्रमुखको रुपमा चर्चा भइरहेकै बेला आज बिहानै पूर्वमन्त्री सरिता गिरीले एउटा यस्तो ट्वीट गरिन् जसले प्रदेश प्रमुख बन्नुअघि नै अनुराधा कोइरालालाई विवाद र बहसमा तानेको छ ।

फोरम नेतृ गिरीको ट्वीट छ, ‘अनुराधाजीको नाम प्रदेश प्रमुखमा आइरहेको छ । उनको विरुद्धमा मैले भन्नुपर्ने केही छैन । उहाँ अन्तराष्ट्रिय ख्याति प्राप्त महिला हुनुहुन्छ । धेरै महिलाको उद्दार गर्नुभएको छ । तर, मैले राज्यसँग सम्वाद गर्नुपर्छ ।’

पूर्वसांसद गिरीले आफ्नो ट्विटमा अनुराधा कोइरालाबारे थप भनेकी छिन्, ‘मैले जानेअनुसार उहाँ दार्जीलिङको हुनुहुन्छ र विवाहपछि नेपाली नागरिक हुनु भएको हो । म गल्ती पनि हुनसक्छ । तर, यदि यो सत्य हो भने नागरिकता कानुनको सम्बन्धमा राज्यको द्वैध नीति पुनः प्रमाणित भएको छ ।’

  • के छ त नेपालको संविधानमा ?

संविधानको धारा २८९ मा विभिन्न १० वटा पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्छ भन्ने प्रष्ट व्यवस्था छ । संविधानअनुसार प्रदेश प्रमुखहरुमा अंगीकृत नागरिकहरु नियुक्त हुन सक्दैनन् ।

  • अनुराधाको वास्तविक जन्मस्थल कहाँ ?

अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । माइती नेपालका अनुसार १४ अप्रिल १९४९ कर्नेल प्रतापसिंह र लक्ष्मी गुरुङको कोखबाट अनुराधाको जन्म भएको हो । उनले आफ्नो प्रारम्भिक शिक्षा भारतको कालिङपोङमा पूरा गरेकी हुन् ।

  • माइती नेपालको आधिकारीक वेवसाइट अनुसार :

माइती नेपालको आधिकारिक वेबसाइटमा अनुराधाको जन्म कहाँ भएको भनेर खुलाइएको छैन । उनको प्रारम्भिक शिक्षाचाहिँ भारतमा भएको खुलाइएको छ । माइती नेपालले अनुराधाको जन्म नेपालमा भएको हो कि भारतमा भन्ने नखुलाएका कारण उनी बंशज नागरिक हुन् या अंगीकृत भन्ने खुलस्त भएको छैन् ।

उसो त कोइरालाको जन्म ओखलढुंगाको रुम्जाटारमा भएको पनि केही लेखहरुमा उल्लेख छ । तर, रुम्जाटार गाविसका पूर्वअध्यक्ष सीताराम गुरुङ अनुराधाको जन्म ओखलढुंगामा नभएको र उनको परिवार राणाकालमै भारत गएको दाबी गर्छन् । ‘उनले नागरिकता कहाँबाट लिइन थाहा छैन तर, रुम्जाटारमा जन्मिएकी होइनन्’ गुरुङको भनाइ छ ।

गुरुङ परिवारमा जन्मेकी अनुराधाले कोइरालासँग विवाह गरेपछि अंगिकृत नागरिकता बनाएको भए उनी स्वतः प्रदेश प्रमुख बन्न अयोग्य हुनेछिन् । तर, उनले बंशजकै आधारमा नागरिकता लिएकी हुन भने चाहिँ उनी कालिङपोङमै जन्मिएकी भए पनि प्रदेश प्रमुख हुन संविधानतः अवरोध हुँदैन ।

अनुराधाको विवाह नेपाली नागरिक दिनेशप्रसाद कोइरालासँग भएको थियो । हाल उनीहरुको सम्बन्धविच्छेद भइसकेको छ ।
जहाँसम्म अनुराधाको सवालमा प्रश्न छ, उनी नेपालमै जन्मिएर बंशज नागरिक बनेकी हुन् या सीमापारिबाट आएर बंशजको नागरिकता लिएकी हुन् भन्ने प्रश्न सतहमा आएको छ ।
उनी नेपालमै जन्मिएर बंशज नागरिक बनेकी हुन् या सीमापारिबाट आएर बंशजको नागरिकता लिएकी हुन् भन्ने प्रश्न सतहमा आएको छ ।

माइती नेपालमार्फत सन् २०१० मा कोइरालाले ‘ग्लोबल सीएनएन हिरो’ को अवार्ड पाइरहँदा भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले भारतीय पूर्व आर्मी अफिसर्सकी छोरीले अवार्ड पाएको समाचार लेखेको थियो ।
त्यसैले भारतीय पत्रिकाका अनुसार अनुराधा भारतीय सेनाका कर्णेल प्रतापसिंह गुरुङकी छोरी हुन् र उनी भारतको सेन्ट जोसेफ स्कुल, कालेङपोङकी पूर्वछात्रा हुन् ।

त्यसो त भारतले आफ्ना नागरिकहरुलाई दिने गरेको पद्मश्री पुरस्कार पनि अनुराधा कोइरालालाई प्रदान गरेको छ । नेपालस्थित भारतीय दूताबासका अनुसार सन् २०१७ को पदमश्री पुरस्कार पाउने अनुराधा कोइराला एकमात्र विदेशी हुन् ।

भारतीय दूताबासको यस्तो भनाइले अनुराधा नेपाली नागरिक होइन्न भन्नेमा कुनै शंका छैन । तर, उनको जन्म कहाँ भएको हो र उनी बंशज नागरिक हुन् या अंगीकृत हुन् भन्ने मात्रै प्रश्न उठेको छ । यस्तो प्रश्नसँगै कोइरालाको सम्भावित नियुक्ति विवादमा पर्ने देखिएको छ ।

(स्रोत–अनलाइनखबर)