कांग्रेस सांसद गुरुङले १४ करोड रकम अपचलन गरेको समितिको प्रतिवेदनमा

३१ भाद्र २०८१, सोमबार १२:१३

काठमाडौं । कांग्रेसका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातहरूले देखाएको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले बताएको छ ।

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको समितिले तयार पारेको प्रतिवेदनमा पाइएको हो ।

समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । उनीमाथि पनि अनुसन्धान गर्न समितिले राज्यका निकायलाई लेखी पठाउने भनेर समितिमा सहमति भएको एक सदस्यले जानकारी दिए ।

‘धनराजको हकमा समितिको टीओआरमा थिएन । तर पछि उजुरी पर्‍यो । त्यसपछि सम्बन्धितको बयान, अनुगमन समितिले गर्‍यो’, ती समिति सदस्यले भने, ‘सम्बन्धित बयान, कागजपत्र, डिभोर्स पेपर त्यसपछि गरेको कारोबारले उहाँले दाबी गरेको सम्बन्ध विच्छेद नक्कली हो कि भन्ने आशङ्का छ, तर निष्कर्ष होइन ।’

उनका अनुसार प्राप्त प्रमाणका आधारमा गुरुङमाथि अनुसन्धान गर्न समितिले सिफारिस गर्ने सहमति भएको छ । ‘अनुसन्धान टुङ्गिएको होइन, गुरुङका हकमा अनुसन्धानका लागि लेखि पठाउनेसम्मको सहमति भएको छ,’ ती सदस्यले भने ।