काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रदेश १ का सांसद जीवन आचार्यले माओवादी केन्द्रले भ्रष्टाचारविरूद्ध सुशासन अभियान लिएर जनताको घर–घरमा जाने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुनसरी जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद आचार्यले सो कुरा बताएका हुन्।
पहिलेदेखि नै देशमा लुटको धन्दा चलाएका पार्टी र सो वर्गका केही बिचौलिया व्यापारीले माओवादी र पार्टी अध्यक्ष प्रचण्डका विरुद्ध भ्रम छर्ने काम गरेको भएपनि जनताले प्रचण्ड नै यो देशलाई सहि नेतृत्व दिन सक्ने नेता हो भन्ने कुरा थाहा पाएको उनले बताए ।
सांसद आचार्यले भने,“आज जनताले बुझ्न थालेका छन्, देशभर माओवादीको पक्षमा माहोल बन्दै गैरहेको छ। अध्यक्ष प्रचण्ड नै देशलाई सहि ढंग्गले नेतृत्व गर्न सक्ने नेता हो, भन्नेमा जनता आशावादी भएको देखिन्छ।प्रचण्ड नेतृत्वको सरकारले शुसासनको अभियान चलाएपछि भ्रष्टहरु अत्तालिएर एकजुट भएका छन्।”
सांसद आचार्यले भने, “यो देश भ्रष्टाचारले जरजर बनाइएको अवस्थामा अब यो तरिकाले भएन भनेर कमरेड प्रचण्ड नेतृत्वको सरकारले सुशासनको अभियान चलाउँदा के भयो ? भ्रष्टाचारीहरु एक ठाउँमा आएर हाम्रो सरकार ढाल्ने प्रयास भयो।”
भ्रष्टाचारी र माफियाहरुको योजनामा बनेको सरकारको जग कमजोर रहेको बताउँदै माओवादी केन्द्रले चाहे जुनसुकै बेला सरकार ढल्ने उहाँले बताउनुभयो ।यद्यपी माओवादी केन्द्र जनतासँग सुशासनको अभियानलाई जोड्न घर–घर जाने योजनामा रहेकाले सरकार ढाल्ने र बनाउने तर्फ समय खेर नफाल्ने उनको भनाई थियो ।
माओवादी केन्द्र आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने बताउँदै कांग्रेस एमालेलाई पार्टी एकता गरेर आउन चुनौती समेत दिए ।
उनले भने, “म ती सरकार ढाल्ने माफिया र भ्रष्टहरुलाई यो स्टेजबाट भन्न चाहान्छु । कमरेड प्रचण्ड र माओवादीले चाहने हो भने यो सरकार हामीले चाहेकै दिन ढल्छ । तर हामीलाई अहिले सरकार चाहिएको छैन । हामी आगामी निर्वाचन हामी एक्लै लड्छौं। कांग्रेस(एमालेले गठबन्धन मात्रै होइन्,पार्टी एकता नै गरे हुन्छ । माओवादीलाई कसैको साहारा चाहिएको छैन ।म यहाँबाट चुनौती दिन चाहान्छु।”
