माओवादीका युवा नेता सुवेदीले पार्टीमा घण्टी बजाउने अभियान सुरु गरे

१८ भाद्र २०८१, मंगलवार १५:४६

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का युवा नेता तेजप्रसाद सुवेदी ‘तुफान’ले पार्टीमा घण्टी बजाउने अभियान सुरु गरेका छन्।

उनले पार्टीका निष्कृय रहेका नेताहरुलाई जागरुक बनाउन कार्यकर्ताहरुले फोन गरेर सुझाउन सामाजिक सञ्जालमार्फत आह्वान गरेका हुन्।

माओवादी सम्पर्क समन्वय प्रदेश समितिका सदस्यसमेत रहेका नेता सुवेदीले सामाजिक सञ्जालमार्फत नेताहरुको जिम्मेवारी उल्लेख गर्दै उनीहरुलाई सक्रिय बनाउन कार्यकर्तालाई फोन गरेर दबाब बढाउन आग्रह गरेका छन्।

केन्द्रीय नेताहरू, जनवर्गीय संगठनका अध्यक्ष र जिम्मेवार पदाधिकारीहरुलाई पार्टी काममा सक्रिय बनाउन कार्यकर्ता मार्फत दबाब सिर्जना गर्न यो अभियान सुरू गरिएको उनले बताएका छन्।

यस अभियानले नेताहरुलाई सक्रिय बनाएर पार्टी पुनःर्निमाणका लागि दबाब बढाउन थालिएको उनले बताए। पछिल्लो समय सामाजिक सञ्जालमा पार्टीका नेताहरुको गतिबिधमा शून्यता छाएकाले उनीहरुलाई घण्टी बजाएर सचेत गराउन अभियान सुरु गरिएको नेता सुवेदीले जनाए।

पछिल्लो समय माओवादीमाथि चौतर्फी आक्रमण हुँदा पनि नेताहरु प्रतिवाद नगरेर मौन रहेको भन्दै नेता जगाउने अभियानका रुपमा सामाजिक सञ्जालमार्फत यसलाई सुरु गरिएको उनले बताए।