प्रचण्डलाई हटाएर तेस्रो पुस्तालाई अध्यक्ष बनाउन शर्माको प्रस्ताव

२८ श्रावण २०८१, सोमबार ०९:११

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वप्रति पार्टीभित्रै गम्भीर प्रश्न उठाएका छन् ।

डा.बाबुराम भट्टराईले माओवादी छोडेपछि ९ वर्षदेखि चुनौतीरहित देखिएका प्रचण्डको नेतृत्वप्रति उपमहासचिव शर्माले पेरिसडाँडामा २५ साउनदेखि जारी स्थायी कमिटी बैठकमा १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै पार्टीभित्रै गम्भीर प्रश्न उठाएका हुन् ।

उनले प्रचण्डलाई १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै सम्मानजनक बहिर्गमनको आग्रह गरेका छन् । प्रचण्डले अहिलेसम्म पुर्‍याएको योगदान स्थापित गर्न र पार्टी निर्माणका निम्ति नेतृत्व परिवर्तन आवश्यक रहेको शर्माको प्रस्ताव छ ।

शान्ति प्रक्रियायता पार्टीले खेप्नुपरेको असफलताहरु सम्झाउँदै शर्माले नेतृत्व परिवर्तनको तीन विकल्प प्रस्तुत गरेका छन् । पहिलो प्रस्ताव बमोजिम प्रचण्डले अवकाश लिनुपर्नेछ ।

उनको प्रस्तावअनुसार त्यसरी अवकाश लिंदा प्रचण्डले चाहेकै पात्रले पार्टीको नेतृत्व गर्न अवसर पाउने छन् । ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने’, नेतृत्व हस्तान्तरणबारे शर्माले लेखेका छन् ।

दोस्रो विकल्प बमोजिम माओवादीभित्र पुस्तान्तरण गर्न सकिन्छ । प्रचण्ड संरक्षक रहने र अहिलेका पदाधिकारीहरु विभागीय काम, अनुगमन, प्रशिक्षणजस्ता काममा रहेर तेस्रो पुस्ताका नेतालाई अध्यक्ष बनाउने शर्माको प्रस्ताव छ ।

‘अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने । हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरुलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने’, शर्माले लेखेका छन् ।

शर्माको तेस्रो विकल्पमा नेतृत्व चयनको अधिकार कार्यकर्तालाई छोड्ने छ । वर्तमान कमिटी भंग गरी प्रचण्डकै नेतृत्वमा महाधिवेशन आयोजक कमिटी बनाउने र त्यो महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने विकल्पलाई शर्माले तेस्रो नम्बरमा राखेका छन् ।

शर्माले दिएको तीन विकल्पमा प्रचण्डले अध्यक्षमै निरन्तरता दिने हो भने तेस्रो नम्बर अथवा महाधिवेशनबाट जितेर आउनुपर्नेछ । महाधिवेशनबाट जितेर आउनेले नेतृत्व गर्नुपर्ने प्रस्ताव शर्माले यसअघि पनि ल्याएका थिए । अढाइ वर्षअघि सम्पन्न (२०७८ पुसमा) आठौं राष्ट्रिय महाधिवेशन पश्चात् लगातार असहमति राख्न थालेका शर्माले गत फागुनमा सम्पन्न विधान महाधिवेशनमा नेतृत्व चयनबारे भिन्न प्रस्ताव राखेका थिए ।

मनोनयन र चयनको प्रणाली हटाएर प्रतिनिधिहरुबाट प्रत्यक्ष निर्वाचित विधि अपनाउनुपर्ने उनको प्रस्ताव थियो । सबै पदाधिकारी महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने, प्रदेशलाई संघले हस्तक्षेप गर्न नहुने, जनसंगठनहरुले आफ्नै योजना बमोजिम चल्न पाउनुपर्ने जस्ता लोकतान्त्रिकरणको प्रस्ताव शर्माले उठाएका थिए ।

तर माओवादीभित्र ठीक विपरीत अभ्यास चल्दै आएकाले शर्माको प्रस्तावले राम्रै तरंग ल्याएको थियो । तर हरेकजसो अन्तर्संघर्षमा प्रचण्डलाई साथ दिँदै आएका शर्माले अध्यक्ष फेर्ने प्रस्ताव त्यसबेला ल्याएका थिएनन् ।

यसपटक भने केही गम्भीर आरोपसहित प्रचण्डले अध्यक्ष छोड्नुपर्ने प्रस्ताव ल्याएका छन् । प्रचण्डले अध्यक्ष छोड्नुपर्ने शर्माको प्रस्तावपछि माओवादी बैठकको वातावरण नै बदलिएको छ । बैठक स्रोतका अनुसार नेताहरु आफ्नो कुरा राख्दा गम्भीर देखिएका छन् ।