गण्डकी प्रदेशमा कांग्रेसले गर्‍यो एमालेलाई वेवास्ता

१७ श्रावण २०८१, बिहीबार ०८:२०

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर नयाँ गठबन्धन बनेपछि त्यसको असर केन्द्रदेखि प्रदेशसम्म झरेको छ ।

अन्य प्रदेशहरूमा कांग्रेस र एमालेको सरकार गठन प्रक्रिया अघि बढिसकेको छ । गण्डकीमा भने नयाँ गठबन्धनको चाइँचुइँ छैन । निकै कष्टका साथ आफ्नो नेतृत्वमा सरकार बनाएका कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले एमालेलाई वास्तै गरेका छैनन् भने एमाले चाहिँ सरकारमा जान हतारिएको छ ।

पाण्डे यतिबेला उपचारका लागि भारतमा छन् । उनी आएपछि एमालेको सत्ता ‘इन्ट्री’ बारे छलफल हुनेछ । सात सदस्यीय मन्त्रिपरिषद्मा ५ जना मात्रै मन्त्री नियुक्त भएका छन् । अब एमालेलाई समेट्दा मन्त्रालय फुटाउने कि अहिलेका सहयात्रीलाई हटाउने भन्ने निर्णय पाण्डेले गरिसकेका छैनन् । उनी निकट स्रोतका अनुसार दुःखका बेला साथ दिएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्रीबाट हटाउन पाण्डेले चाहेका छैनन् ।

बरु मन्त्रालय बढाउन राजी छन् पाण्डे । एमाले चाहिँ दुवैजनालाई हटाउनुपर्ने अडानमा छ । मन्त्रालयको सङ्ख्या नबढाउने र केन्द्रमा भएकै गठजोड अनुसार कांग्रेस र एमालेको मात्रै सरकार बनाउनुपर्ने एमालेको माग छ ।