काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झासँग नेपाल र भारतको नागरिकता प्रहरी अनुसन्धनामा भेटिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग जिल्ला प्रशासन कार्यालय, पर्साबाट लिएको नागरिकता र भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार कार्ड बनाएको भेटिएको हो ।
झाको नागरिकतामा उल्लिखित विवरण अनुसार उनले १४ चैत २०६३ मा घुम्ती टोलीमार्फत वीरगञ्जबाट जन्मको आधारमा नेपाली नागरिकता लिएकोपाइएको छ । नागरिकतामा उनको जन्मस्थान पर्साको वीरगञ्ज लेखिएको छ ।
तर, झाको व्यक्तिगत विवरणका आधारमा भारतको निर्वाचन आयोगको मतदाता सेवा पोर्टलमा हेर्दा उनी सन् २०२४ को लोकसभा चुनावमा बिहार राज्यको मधुवनी जिल्लास्थित बाबुबह्री–३४ निर्वाचन क्षेत्रमा मतदाता रहेको देखिन्छ ।
पोर्टलमा उनको उमेर ६४ उल्लेख छ भने मतदान केन्द्र मरुकिया प्राथमिक स्कुल भएको उल्लेख छ । विस्तृत विवरणमा उनको आफन्तको नाममा दुखनमोचन झा उल्लेख छ । २०६३ सालमा लिएको नेपाली नागरिकताको प्रमाण–पत्रमा दुखमोचन झा उनको बुबा भएको उल्लेख छ । झालाई नेपाल प्रहरीको विशेष ब्यूरोको टोलीले पक्राउ गरेर १५ असारमा काठमाडौं ल्याएको थियो ।
