गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन

११ श्रावण २०८१, शुक्रबार १०:२९

काठमाडौं । नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । झापाको दमक–१ स्थित आफ्नै निवासमा बिहीवार साँझ बेहोस भएका उनको उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको हो ।

विसं १९९३ मा धनकुटा बजारमा जन्मिएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उनले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौँ कालजयी गीत गाएका थिए । पूर्वेली लोकभाका उनी गीत गाउँथे । ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो ।

उनी चित्रकार र अभिनेता पनि थिए । चलचित्र ‘हिजो आज भोलि’मा उहाँले नायिका भुवन चन्दसँग नायकको भूमिकामा अभिनय गरेका थिए । उनले नौवटा चलचित्रमा अभिनय गरेका छन् । सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले लोकगायक एलपी जोशीको निधन नेपाली लोकसङ्गीतको क्षेत्रमा अपूरणीय क्षति भएको बताए ।