ग्लोबल कलेज ग्रुपले आईपीओ जारी गर्ने

७ श्रावण २०८१, सोमबार १०:३१

काठमाडौं । ग्लोबल कलेज ग्रुपले झण्डै सवा एक अर्ब लगानी भित्राएको छ । नेपाल लाइफ इन्सुरेन्सले प्रोफेसनल एजुकेटर्स लिमिटेड अन्तर्गत सञ्चालनमा रहेका ६ वटा कलेजमा सवा एक अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ ।

डा. खगेन्द्र ओझाले स्थापना गरी नेतृत्व गरिरहेको ग्लोबल कलेज र युनिग्लोब कलेज नेपालमा व्यवस्थापन र विज्ञान विषयको उच्च शिक्षाका लागि नामुद कलेज मानिन्छन् । सम्झौताअनुसार ग्लोबल कलेज सञ्चालन गर्ने प्रोफेसनल एजुकेटर्समा नेपाल लाइफले ७३ करोड ७२ लाख रुपैयाँ लगानी गरी ३५ प्रतिशत स्वामित्व लिएको छ । यसैगरी युनिग्लोब हायर सेकेण्डरी स्कूलमा ६० करोड लगानी गरी ४७ प्रतिशत सेयर स्वामित्व लिएको छ ।

लगानीसम्बन्धी सम्झौतामा आइतबार ग्लोबल ग्रुपका अध्यक्ष डा. खगेन्द्र ओझा र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले सेयर लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।शिक्षा क्षेत्रमा ग्लोबल ग्रुप भनेर चिनिने प्रोफेसनल एजुकेटर्स लिमिटेड अन्तर्गत ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज सञ्चालनमा छन् ।

कलेजमा भित्रिएको नयाँ संस्थागत लगानीले ग्लोबल कलेज ग्रुपलाई थप बलियो र संस्थागत बनाएको संस्थापक डा.ओझाले बताए । ‘२० वर्ष अगाडि हामी शिक्षकहरुले सुरु गरेको शैक्षिक संस्था आज संस्थागत लगानीसँगै अझ बलियो भएको छ,’ डा. ओझाले भने, ‘प्राप्त नयाँ लगानी कम्पनीको वित्तीय अवस्था सुधार गर्न र नयाँ भौतिक संरचना निर्माणमा खर्च गर्ने छौं ।’