काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरीले बेचन झाको प्रारम्भिक बयान सकेको छ । प्रहरीले बयान गराइरहँदा झा परिवार भने सर्वोच्च अदालत पुगेका छन् ।
झाका तर्फबाट छोराले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा झालाई गैरकानुनी थुनामा राखिएको दाबी गरिएको छ । उनीहरूले झालाई तत्काल धरौटीमा वा हाजिर जमानीमा रिहा गर्न माग गरेका हुन् ।
तर प्रहरीले भने उनीमाथि अन्तिम चरणको अनुसन्धान भइरहेको बताएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोगपत्र दायर गर्न अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार झाको बयान सकिएको छ । उनको बयानमा आधारमा तानिन सक्ने व्यक्तिहरूको बारेमा अनुसन्धान अघि बढेको प्रहरी स्रोतको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले भने, ‘पहिलो चरणको बयान सकियो । आवश्यकता देखिएमा थप बयान गरिन्छ । सङ्गठित अपराध र ठगीमा अनुसन्धान भइरहेकाले समय लाग्छ ।’
सङ्गठित अपराधमा अनुसन्धानका लागि लामो समय पाउने र यसअघि पनि यही अपराधमा अभियोग पत्र दायर भएकाले प्रहरीले सोही अनुरूप अनुसन्धान अघि बढाएको छ । झा पक्राउ पर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए । काठमाडौँ जिल्ला अदालतले झालाई अनुसन्धानका लागि थुनामा पठाएको छ । अहिले परिस्थिति फेरिएर कांग्रेस र एमाले मिलेर सरकार बनाएका छन् ।
प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली छन् भने गृहमन्त्रीमा कांग्रेसका रमेश लेखक छन् । जिल्ला अदालतबाट छुट्ने सम्भावना न्यून भएपछि झाको परिवार बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेको छ । झाका तर्फबाट छोरा दिव्यान्शु शेखर झाले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् । उक्त निवेदन असार ३० गते दर्ता भएको थियो ।
