काठमाडौं। कांग्रेस–एमाले नेतृत्वको सत्ता गठबन्धनले संविधान संशोधनको एजेण्डा अघि सारेसँगै विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले खबरदारीका लागि सहकार्य गर्नेबारे छलफल थालेका छन् ।
जनयुद्ध, जनआन्दोलन र मधेस विद्रोहबाट बनाएको संविधानलाई कांग्रेस–एमालेले भनेबमोजिम संशोधन हुन नदिन सबै पक्षसँग सहकार्य गर्नेबारे तीन विपक्षी दलबिच छलफल भएको हो । यसै विषयमा साझा रणनीति बनाउन माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपाका सभापति रवि लामिछानेबिच शुक्रबार छलफल भएको हो । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा साझा एजेण्डा बनाएर जाने विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।
बैठकपछि माओवादीका उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमाले आत्तिएर पश्चगमनतर्फ फर्किएको आरोप लगाए । ‘उहाँहरू जसरी आत्तिएर निरंकुश र पश्चगमनतर्फ जाने प्रयत्न गर्नुभएको छ, त्यो जनताले स्वीकार्दैनन्,’ उनले भने, ‘असंसदीय खालका समीकरणविरुद्ध संसदमा सशक्त ढङ्गले आवाज उठाउँछौँ । शक्ति, सङ्ख्या र एजेण्डाले हामी बलियो छौँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रभावकारी बनाउन साझा एजेण्डा लिएर प्रस्तुत हुने विषयमा छलफल भएको जानकारी दिए । ‘प्रतिपक्षमा पुगेपछि बढी चुनौती देखिएको छ । संसद्को काम कारबाही, जनजीविका लगायत साझा मुद्दा बनाएर जाने विषयमा छलफल भयो’, उनले भने ।
खासगरी माओवादी नेतृत्वको सरकारले अगाडि सारेको सुशासन, सामाजिक न्याय, समृद्धि र संविधान संशोधनको मुद्दालाई सरकारविरुद्ध मुख्य हतियार बनाउने माओवादी केन्द्रको रणनीति छ । त्यसका लागि तत्कालीन कार्यनीति र भावी रणनीति तय गर्न केही दिनमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाउने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार पदाधिकारी बैठकले स्थायी कमिटी बैठक बोलाउने कि सिधै स्थायी कमिटी बैठक बोलाएर केन्द्रीय समिति बैठक बोलाउने भन्ने विषयमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित सातै प्रदेशका इन्चार्जसँग छलफल गरिरहेका छन् । सत्ता गठबन्धनले दुई तिहाइको दम्भ देखाएर माओवादी नेतृत्वको सरकारले अगाडि बढाएको सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा रोक्न खोजेमा कडा प्रतिरोध गर्ने सापकोटाले बताए ।
‘माओवादी नेतृत्वको सरकारले सुशासनको क्षेत्रमा राम्रो काम गर्दागर्दै षड्यन्त्रमुलक ढङ्गले सरकार ढाल्ने काम भएको छ । संविधान संशोधन गरी पश्चगमनतर्फ जाने प्रयास भइरहेको छ । त्यसकाविरुद्ध सदन र सडकबाट सशक्त प्रतिरोध गर्छौं’, प्रवक्ता सापकोटाले ।
संसद्को दुवै सदनमा सुशासनको पक्षमा माओवादीले सशक्त आवाज उठाउने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए । ‘देशलाई फेरि पश्चगमनतर्फ धकेल्न कांग्रेस र एमालेले षड्यन्त्रमुलक ढङ्गले संविधान संशोधनको कुरा उठाएका छन् । दुई दलबिच भएको भनिएको ७ बुँदे सहमति अहिलेसम्म सार्वजनिक गरिएको छैन । अपारदर्शी सहमतिविरुद्ध संसदभित्र सशक्त ढङ्गले प्रस्तुत हुनेछौँ’, उनले भने ।
माओवादी नेतृत्वको सरकारले अगाडि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा विपक्षी मोर्चासँग सहकार्य गर्ने पाण्डेको भनाइ छ । सरकारको काम कारबाही हेरेर आवश्यकता अनुसार सडक सङ्घर्ष पनि गर्ने उनले बताए ।
भावी रणनीति तय गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका पदाधिकारी, प्रदेश इन्चार्ज, अध्यक्ष लगायत, जवस मोर्चाका इन्चार्जहरूका साथै विभिन्न व्यक्तित्वसँग लगातार छलफल गरिरहेका छन् । पार्टी बैठकका लागि सात वटै प्रदेशका इन्चार्ज काठमाडौँ आउने तयारीमा छन् ।
आफ्नो नेतृत्वको सरकारले अगाडि सारेको सुशासन, सामाजिक न्याय, समृद्धिको पक्षमा सशक्त आवाज उठाउन प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिइसकेका छन् । पार्टीको बैठकमा भाग लिन काठमाडौँ आउन लागेका लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल ‘बलदेव’ले संविधान संशोधन गर्ने कांग्रेस–एमालेको सहमतिविरुद्ध संसद् र सडकमा प्रतिरोध गर्ने बताए । माओवादी नेतृत्वको सरकारले गरेको कामको समीक्षा, भावी रणनीतिको विषयमा छलफल गर्न पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्न लागेको उनले जानकारी दिए ।
‘केही दिनमा पार्टीको बैठक बस्छ । पहिला पदाधिकारी बैठक बोलाएर स्थायी कमिटी बैठक बोलाउने कि स्थायी कमिटी बैठक बोलाएर केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने भन्नेमा अध्यक्षले छलफल गरिरहनुभएको छ,’ उनले भने ।
बैठकले सरकारको काम हेरेर आन्दोलनका कार्यक्रम बनाउने बलदेवको भनाइ छ । कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले पछिल्लो विकसित राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्न पार्टीको महत्त्वपूर्ण बैठक बस्न लागेको बताए । पूर्वी क्षेत्रमा रहेका उनी काठमाडौँ फर्किने तयारीमा छन् ।
‘संविधान संशोधनसहित कांग्रेस–एमालेले प्रतिगमनको यात्रा तय गरेका छन् । त्यसविरुद्ध सशक्त विरोधका कार्यक्रम ल्याउने गरी बैठक बस्न लागिएको हो,’ उनले भने, ‘केही दिनमा पदाधिकारी बैठक बस्दैछ । त्यसलगत्तै स्थायी कमिटी बैठक बस्छ । सोही बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा र मिति तोक्नेछ ।’
प्रतिनिधि सभामा माओवादीमा ३२ सिट छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुशासन र सामाजिक न्यायको पक्षमा संसदमा सशक्त भूमिका खेल्ने बताइसकेको छ । १० सिट रहेको एकीकृत समाजवादीसमेत सरकारको विपक्षमा उभिएको छ । तीन शक्ति एक ठाउँमा उभिँदा विपक्षी गठबन्धनमा ६३ सिट रहने छ ।
आगामी आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । त्यसपछि सत्ता पक्ष र विपक्ष कित्ता स्पष्ट हुने भएकाले ध्रुवीकृत हुन सजिलो हुने माओवादी केन्द्रका नेताहरूको बुझाइ छ ।
सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा रास्वपा, एकीकृत समाजवादीसहित विपक्षी अन्य दलहरूको समेत साथ मिल्ने सांसद माधव सापकोटाले जिकिर गरे । ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा विपक्षी मोर्चा कसिलो बनाउने छौँ । त्यसका लागि रास्वपा, एकीकृत समाजवादी लगायत अन्य दलको पनि समर्थन पाउने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘सरकारको काम हेरेर आगामी दिनमा संसदमा सशक्त प्रस्तुत हुनेछौँ ।’
