ओली प्रधानमन्त्री बनेसंगै झापावासीले गरे सन्तुलित विकासको अपेक्षा

१ श्रावण २०८१, मंगलवार ०८:५०

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेसंगै उनको गृह जिल्लावासीले सन्तुलित विकासको अपेक्षा गरेका छन्।

प्रधानमन्त्री ओलीको कार्यकालमा जिल्लामा अधुरा रहेका योजनाले पूर्णता पाउनुका साथै देशभर सन्तुलित विकास हुने अपेक्षा गरेका हुन्। कांग्रेस झापाका जिल्ला सचिव कृष्ण हुमागाईंले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको आफ्नो पार्टीको सरकारका पालामा समग्र मुलुकको विकासले गतिलिने विश्वास पनि व्यक्त गरे।

उनले भने, ‘उहाँले झापा जिल्लामा अधुरा रहेका योजना र थप महत्वका पूर्वाधार निर्माणमा ध्यान दिनुहुने नै छ। साथै विगतका कमजोरी सुधारेर जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुहुने आशा जागेको छ।’

विगतमा आफ्नै निर्वाचन क्षेत्रलाई मात्र पर्याप्त बजेट थोपरेको आरोप लागेकाले अब भने समग्र जिल्ला र प्राथमिकताका आधारमा देशका अन्य भूभागमा समेत विकास हुने अपेक्षा गरिएको उनले धारणा राखे।