काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटार छिर्दैछन् । उनी बिहान ११ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ नै प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् । स्रोतका अनुसार तीन जना अलग अलग ज्योतिषीलाई साइत हेराउँदा सबैले सोमबार बिहान ११ बजेको समय उपयुक्त हुने बताएपछि ओलीले सोहीअनुसार राष्ट्रपति कार्यालयलाई शपथको प्रबन्ध गर्न अनुरोध गरेका थिए ।
बिहान ११ बजे शपथ ग्रहण गर्ने कार्यक्रममा उपस्थितिका लागि राष्ट्रपति कार्यालयले संघीय संसद्का सदस्यहरूलाई उपस्थितिको सूचना समेत पठाइसकेको छ । उनीहरूलाई १०ः३० मा पुगिसक्न पत्र मार्फत अनुरोध गरिएको हो । ओली प्रधानमन्त्रीमा नियुक्त हुनु अगाडि नै राष्ट्रपति कार्यालयले यस्तो निम्ता पठाएको हो ।
ओली उनको चौथोपटक प्रधानमन्त्री बन्न लागेका हुन् । यसअघि पहिलोपटक २०७२ असोज २४ मा उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए । २०७३ साउन ९ गतेसम्म करिब एक वर्ष प्रधानमन्त्री रहेका उनको उक्त कार्यकाल खासै उपलब्धिमूलक रहेन । त्यसपछि २०७४ फागुन ३ गते प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा उनी दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । उक्त कार्यकाल उनको विवादित रह्यो ।
पार्टीभित्रै कमजोर भएपछि उनले २०७७ पुस ७ गते संसद् नै विघटन गरे, जुन घटनामा आजपर्यन्त उनको आलोचना हुँदै आएको छ । संसद् विघटन असंवैधानिक भन्दै २०७७ फागुन ११ गते सर्वोच्चले उक्त निर्णय उल्टायो ।२०७८ वैशाख ३० गते सदनबाट विश्वासको मत गुमाएपछि सोही दिन राति कसैको पनि बहुमत नपुगेको भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
तेस्रो पटक २०७८ जेठ ८ गते उनले दोस्रोपटक संसद् विघटन गरे । उक्त मुद्दामा सर्वोच्चले ओलीको निर्णय उल्टाउँदै २०७८ असार २८ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
