काठमाडौं । चितवनको सिमलतालमा पहिरो त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र उक्त बसमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।
आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।
स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले भने, ‘हामीले नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेका छौं । खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई भने भनेका छौं ।’
भारतीय टोलीसँग भारतमा सिधै सम्पर्क गरेर सहयोग मागेको उनले बताए । उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका जानकारी आइतबार नै पठाइएको भन्दै भूसालले उताबाट प्रतिउत्तरको प्रतीक्षामा रहेको बताए ।
यसैगरी बंगलादेशसँग भने काठमाडौंस्थित दूतावासमार्फत् सम्पर्क गरेर आवश्यक प्रविधि र जनशक्तिको सहयोग मागिएको भूसालले बताए । ‘बंगलादेशको दूतावासमा विपद हेर्ने छुट्टै कर्मचारीहरु हुन्छन् । उनीहरुमार्फत् सहयोग मागेका छौं,’ डा. भूसालले भने ।
तर बंगलादेशका गोताखोर उद्धारमा उत्कृष्ट मानिन्छन् । तर बंगलादेशको टोलीले जलप्रवाह तीव्र भएको स्थानमा खोज्ने गरेको छैन । दूतावासका कर्मचारीहरुले पनि शान्त खालका नदी तथा तलाउहरुमा खोज्ने दक्षता मात्र आफूहरुसँग भएको तर त्रिशूलीजस्तो तीव्र बहाव भएको नदीहरुमा उद्धारको अनुभव नभएको जवाफ दिएका थिए ।
सहसचिव डा. भूसालले भने, ‘हामीले स्वदेशी–विदेशी सबैसँग सम्पर्क गरी खोजी कार्य तीव्र पारेका छौं । सम्भव भएसम्मका सबै उपायहरु अपनाएका छौं । त्यसैले छिट्टै सफलता हात लाग्ने आशा छ ।’
