काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरिसके भने कांग्रेस र एमालेबीच १७ असारको सहमति अनुसार केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दाबी पेश गरिसकेका छन् ।
कांग्रेस र एमालेले अब बन्ने सरकारमा ककसलाई समेट्छन् प्रष्ट निर्णय लिइसकेका छैनन् । तर जसपा, जसपा नेपाल, जनमत, लोसपा, नाउपा सहितका साना दलले समर्थन गर्ने बताएका छन् । राप्रपाले केही बताएको छैन ।
माओवादी र रास्वपाले भने प्रतिपक्षमा बस्ने प्रष्ट छ । शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेले सरकारमा जसरी सहकार्य गरिएको थियो, प्रतिपक्षमा बस्दा पनि सहकार्य हुने बताएका छन् ।
प्रचण्डले करिब १८ महिला सरकारको नेतृत्व गर्दा रास्वपा दुई पटक सहभागी भयो । १० पुसमा प्रचण्ड प्रधानमन्त्री हुँदा रास्वपाले तीनमन्त्री र एक राज्यमन्त्री पायो । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले १३ माघमा लामिछानको सांसद पद खारेज गरेपछि उनको दलले सरकार छाड्यो ।
२१ फागुन २०८० मा प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि रास्वपा फेरि सरकारमा गयो । रास्वपाले चार मन्त्रालय पायो, लामिछाने गृहमन्त्री भए । लामिछाने मन्त्री भएलगतै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा लामिछानेको संलग्नताबारे प्रश्न उठायो । तर प्रधानमन्त्री प्रचण्डले जमेर रविको बचाउ गरे ।
१७ असारमा कांग्रेस र एमालेबीच नयाँ सहमति भयो । एमालेले समर्थन फिर्ता लियो । रास्वपाका मन्त्रीहरु पनि राजीनामा बुझाउन बालुवाटार पुगेका थिए, तर प्रचण्डले विश्वासको मत लिने दिनसम्म साथ दिन आग्रह गर्दा सहमत भए ।
शुक्रबार प्रतिनिधि सभामा पनि प्रचण्ड र रविले एकअर्काको प्रशंसा गरेका छन् । प्रचण्डले रास्वपाको प्रवेशसँगै जनतामा आशा जगाउन सकेको बताए । उनले भने, ‘नयाँ उदाएका शक्तिहरू पनि सरकारमा आएपछि तुलनात्मकख रूपमा सकारात्मक वातावरण बन्यो पनि । जनतामा आशा पनि जाग्यो ।’ अनि आफ्नो सरकारले गरेको कामको फेहरिस्त सुनाउने क्रममा रास्वपाका मन्त्रीहरुले गरेको कामलाई राम्रै स्थान दिए ।
रास्वपाका सभापति लामिछानेले पनि उपप्रधान तथा गृहमन्त्रीको रुपमा काम गर्दा आफूले प्रधानमन्त्री प्रचण्डबाट सहयोग पाएको भन्दै धन्यवाद दिए । ‘‘वर्तमानमा आफ्नो राजनीतिक प्रतिवद्धतामा र सुशासनको प्रतिवद्धतामा मलाई पूर्ण रुपमा सहयोग गर्नुभएकोमा म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिन चाहन्छु’ लामिछानेले संसदमा भने ।
पहिलो पटक सरकारमा सहभागी हुने क्रममा नै आफूले प्रचण्डलाई तपाईं राजनीतिको उत्रार्धमा रहेको र आफूहरू राजनीतिको शुभारम्भमा रहेको उल्लेख गर्दै उनले यसै अनुसार सरकारमा रहेर काम गरेको बताए ।
रास्वपा सभापति लामिछानेले पनि व्यवस्थाको रक्षार्थ अडिग रहने बताएका छन् । उनले भने ‘यो सदनमा प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं– यो व्यवस्था ल्याउन आफूले ज्यान दिन नसकेता पनि यो व्यवस्था जोगाउनका निमित्त ज्यान दिन तयार छौं । यसलाई तलमाथि हुन हामी दिदैनौं, यो स्पष्ट पार्न चाहन्छु ।’
