प्रधानमन्त्री प्रचण्डको पक्षमा बहुमत नहुने देखिएपछि, एमाले मन्त्री छान्ने गृहकार्यमा

२५ असार २०८१, सोमबार १२:५०

काठमाडौं। कांग्रेस, एमालेसहितको समीकरण अन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणको तयारीसँगै एमालेबाट मन्त्री बन्नेहरूको न्यूनतम तीन वटा आधारसहितको मापदण्ड बनाउने भएको छ । त्यसका लागि एमालेले मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकमा व्यापक छलफल गर्ने एमाले नेताहरूले बताएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबार दिउँसो बस्ने सचिवालय बैठकमा मुख्यगरी तीन वटा विषयमा छलफल हुने जानकारी दिएका छन्। उनले भने, ‘सचिवालय बैठकमा पछिल्लो राजनीतिक परिघटना, पार्टी कामको व्यवस्थापन र सरकार लगायतका विषयमा छलफल हुन्छ ।’ उनका अनुसार सचिवालय बैठकले केही नेताको जिम्मेवारीसमेत हेरफेर गर्नेछ ।

असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिने भएकाले सो दिन उनको पक्षमा बहुमत सांसदको समर्थन नहुने संसद्को अङ्कगणित देखिएपछि एमालेले पार्टी कामको व्यवस्थापनसहित मन्त्री छान्ने गृहकार्य अघि बढाउने भएको हो ।

जनतालाई डेलिभरी दिनसक्ने सरकार गठन गर्ने भनिएकाले पनि यो पटक सरकारमा काम गर्न सक्ने व्यक्ति छानेर मात्र पठाउने तयारी एमालेले गरेको छ ।