प्रधानमन्त्री प्रचण्डको कारण कांग्रेस एमाले एक भएको महामन्त्री थापाको दावी

२१ असार २०८१, बिहीबार १२:३६

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर कार्यशैलीका कारण अहिलेको आएको बताएका छन् ।

महामन्त्री थापाले आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डकै अस्थिर कार्यशैलीका कारण कांग्रेस एमाले एक ठाउँमा उभिएको बताएका हुन् ।

उनले भने, ‘अहिलेको परिस्थितिको सम्म्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री प्रचण्डको अस्थिरताको कारणले हो, नयाँ सरकार बनेपछि गठबन्धन बनेपछि कांग्रेसका कसैलाई नयाँ गठबन्धन बनोस भन्ने चाहाना थियो होला, मेरो चाहाना प्रतिपक्षमा रहनु नै उपयुक्त हुन्छ भन्ने थियो । तर सरकार बनेको २–४ महिना हुँदा नहुँदै गठबन्धन बन्थ्यो ? बन्दैनथ्यो प्रचण्डको यतिधेरै अस्थिर चरित्र व्यवहार नभएको भए ।’

एमालेसँगको गठबन्धनपछि पनि प्रचण्डले दायाँबायाँ गरिरहेको उनले बताएका छन्। महामन्त्री थापाले भने, ‘एमालेसँगको सरकारमा बसिसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्नका लागि हातखुट्टा पसार्न थालिसके पछाडि अहिलेको दुर्घटना निम्त्याएको हो । नेपालको राजनीतिमा प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग कसैको पनि विश्वास रहेन, त्यो कारणले अहिलेको परिस्थिति निर्माण भएको हो ।’

अहिलेको सरकार ढाल्न प्रधानमन्त्री प्रचण्ड बाहेक कसैको भूमिका नरहेको महामन्त्री थापाले बताए ।