ओली नेतृत्वमा बन्ने सरकारले राजनीतिक स्थायित्व र संविधान संशोधन गर्ने

२० असार २०८१, बुधबार ०८:२५

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारको दुई उद्देश्य रहेको बताएका छन् ।

राजनीतिक स्थायित्व र संविधान संशोधन गर्न ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने सहमति बनेको महासचिव पोखरेलले मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्नु अगाडि नै यी दुवै विषय सार्वजनिक भइसकेको थियो । सोमबार मध्यरात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले वर्तमान सरकार बदल्ने निर्णय गरेका थिए । यसरी सरकार परिवर्तन गर्नुपर्ने औचित्य प्रष्ट्याउन संविधान संशोधन र राजनीतिक स्थायित्वलाई कारण भनिएको छ ।

अर्थात् महासचिव पोखरेलले निकै ढिलोगरी सूचना सार्वजनिक गरिदिएका थिए । तर उनको स्टाटसलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको पाइन्छ ।

एमाले केन्द्रीय सदस्य किशोर विक्रम मल्ल, महासचिव पोखरेलको स्टाटस चासोको साथ हेर्ने परिस्थिति बुझ्न बिगतको घटनाक्रमसम्म जानुपर्ने बताउँछन् । ‘महासचिव कमरेडले राजनीतिक स्थायित्वका लागि बलियो शक्तिको वकालत गर्दै आउनुभएको छ’ उनी भन्छन्, ‘अहिलेको राजनीतिक परिस्थिति त्यसैतर्फ उन्मुख भएकाले महासचिवलाई चासोका साथ हेरिएकोे हुनुपर्छ ।’

महासचिव पोखरेलले साना दलहरुको संसद्मा हुने उपस्थिति र चलखेलले मुलुकमा कहिल्यै राजनीतिक स्थायित्व कायम हुन नसक्ने बताउने गरेका छन् । गत ८ असारमा गृह जिल्ला दाङ पुगेर पनि दुई वटा ठूला दलको पक्षमै बोलेका थिए ।

कांग्रेस – एमाले नेतृत्वबीच जुटेको सहमति बमोजिम संविधान संशोधन भए आगामी चुनाव ०८४ मा साना दलहरुलाई सजिलो हुने छैन । किनकि संविधान संशोधन गर्दा थ्रेसहोल्डको सीमा बढाउने, संसद्को आकार घटाउने, मिश्रित निर्वाचन निर्वाचन प्रणालीलाई थप व्यवस्थित गर्ने जस्ता विषयलाई प्रारम्भिक छलफलमा राखिएको छ ।
महासचिव पोखरेलको सार्वजनिक भाषणले अहिलेका नेकपा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी, राप्रपा जस्ता दलहरुलाई समेत निषेध गर्छ ।