काठमाणडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रधानमन्त्री प्रचण्डसँग दुई दिन लगातार भेटघाट गरेका हुन्
ओलीले शनिबार आफ्नै निवास बालकोटमा कांग्रेस सभापति शेरबहादुर देउवासँग तीन घण्टा वार्ता गरेका थिए । त्यसपछि प्रधानमन्त्रीसँग आइतबार र सोमबार लगातार ओलीले भेट गरेका हुन् ।
सोमबार बिहान भएको भेटवार्ताको विषय सार्वजनिक भएको छैन । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने विषयमा छलफल भएको बताएका छन्।
त्यस्तै दुई नेताबीच संक्रमणकालीन न्याय सम्पादनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
राजनीतिक वृत्तमा देउवा र ओलीबीचको भेटले नयाँ सत्ता समिकरण हुन लागेको चर्चा परिचर्चा भइरहेको छ । यस्तो चर्चाबीच प्रधानमन्त्री प्रचण्डसँग ओलीको दुई दिनमै लगातारा दोस्रो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
आइतबार प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने पनि थपिएका थिए ।
