काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी एकताको प्रक्रियातिर आफूहरू अघि बढिसकेको बताएका छन्।
शुक्रबार (आज) काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले वामपन्थी एकतालाई सफल पार्न आफ्नो–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउदै नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको बताए।
प्रधानमन्त्री प्रचण्डले क्रान्ति र परिवर्तनका उपलब्धिहरूलाई संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए।
उनले सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवम् प्रगतिशिल शक्तिको साथ र सहयोग आवश्यक रहेको बताए। उनले अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने बताए।
उनले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरूको पनि र जनतालाई निराश हुन नदिने गरिकन सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘देशमा केही पनि भएको छैन, भन्ने भाषा गलत हो। धेरै भएको छ। तर जनताको आशा र अपेक्षाअनुसार अझै भएको छैन, त्यो पनि सत्य हो। तर यहाँ एउटा प्रवृत्ति अलि बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति कहीँ न कतै यसलाई अघि बढाउन खोजिएको छ । हामी कम्युनिष्टहरूको आवश्यकता सबै लोकतान्त्रिक शक्तिहरुको पनि आवश्यकता के हो भने हामी एकतावद्ध भएर त्यो भाष्य चिर्नतिर लाग्नुपर्ने हुन्छ। हामीले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरुको पनि र जनतालाई निराश हुन नदिने गरीकन सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्छ।’
प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट र सबै लोकतान्त्रिक शक्तिहरू एकतावद्ध भई नकारात्मक भाष्य चिर्न लाग्नुपर्ने बताए।
