काठमाडौं । दक्षिण अफ्रिका जारी आईसिसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधि निकट पुगेको हो ।
दक्षिण अफ्रिकाले ८.५ ओभरमा निर्धारित लक्ष्य पूरा गर्दै पहिलो पटक टि –२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो। जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक २९ रन र एडेन मार्करामले २३ रन बनाउँदै अविजित रहे। क्विन्टन डे कक भने ५ रनमा आउट भएका थिए। अफगानिस्थानका लागि फजलहक फारुकीले उनको विकेट लिएका हुन्।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा ५६ रन मात्र बनाएको थियो।अफगानिस्थानका अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाएका थिए। अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन्।
पहिलो पटक सेमिफाइनल खेलेको अफगानिस्तान दक्षिण अफ्रिकाका तीव्र गतिको बलरसामू निरिह बन्न पुगेको हो। दक्षिण अफ्रिकाका लागि मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ , कागिसो रबडा र एनरिच नोर्त्याले २–२ विकेट लिए।
दक्षिण अफ्रिकाले समूह चरणमा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंकालाई हराएको थियो। त्यसैगरी सुपर(८ को समूह २ मा इंग्ल्यान्ड,अमेरिका र वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो।
अष्ट्रेलिया र बंगलादेशलाई हराउँदै इतिहासमा पहिलो पटक अफगानिस्थान सेमिफाइनलमा पुगेको थियो।
