सातै प्रदेशमा निर्वाचन अधिकृतको नियुक्तिसंगै कार्यालयको स्थापना

३० पुष २०७४, आईतवार ०४:२०

पुस ३०, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । अबको सात दिनपछि मतदाता नामावली प्रकाशन गर्ने जिम्मेवारी आयोगले निर्वाचन अधिकृतलाई तोकेको छ ।

मतदाता नामावली प्रकाशन गर्न अब एक साता मात्रै बाँकी रहेकाले प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई थप दबाब बढ्न थालेको छ । प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको निर्वाचन नतिजा समेत प्रदेश प्रमुखलाई बुझाउन सकेको छैन । नतिजा सार्वजनिक गरेको सात दिनभित्र आयोगले सम्बन्धित प्रदेश प्रमुखलाई विजयी उम्मेद्वारको विवरण पठाउनुपर्ने कानुनी व्यवस्था छ ।

आयोगलले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरेबमोजिम ती ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको छ । प्रदेश १ मा मोरङ, प्रदेश २ मा धनुषा, प्रदेश ३ मा ललितपुर, प्रदेश ४ मा कास्की, प्रदेश ५ मा दाङ, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जानकारी आयोगका प्रवक्ता नवराज ढकालले दिए । न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावलीबमोजिम सात जना जिल्ला न्यायाधीशलाई आयोगले पुस २७ गते देखि लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरिसकेको छ । –गोरखापत्र दैनिक