बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ: गृहमन्त्री लामिछानेले

८ असार २०८१, शुक्रबार ११:०९

काठमाडौं । गृहमन्त्री एंव् रास्वपाका सभापति रवि लामिछानेले आफूहरू उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताएका छन् ।

शुक्रबार (आज) पार्टी स्थापना दिवसको अवसरमा सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत कठिनाइहरूलाई नचिरी एउटा पार्टी स्थापित हुन नसक्ने बताका हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उदेश्यमा अडिग छौं,गन्तव्यमा स्पष्ट छौं। कुरा बाटोको हो। बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङा खस्छ।आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउदै हिडिरहेका छौं। कयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन। बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौ। विश्वास गर्ने एक दुई जना मात्र हुदा त हिड्ने आँट गरियो भने आज त हामी सँग लाखौं लाख शुभेच्छुकहरु हुनु हुन्छ। २ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु आज रास्वपा खस्कदो छू भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोहि टक शो मा बोल्न घाँटी र टाइ मिलाउदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौ। सम्झ्नुस त, देश तथा विदेशका टोल टोल वस्ती वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवजलाई घण्टीमा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौं। २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं। साथीहरू,घण्टी सिंहदरबार पस्यो,यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बस्यो। बाँकी काम हामी गर्छौ,तपाईंहरु न चिन्ता लिनुस्, न पिर गर्नुस्।
सबैलाई दोस्रो स्थापना दिवसको शुभकामना।”

उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले वैचारिक स्पष्टतासँग राजनीतिक परिपक्वता हासिल गर्दै अगाडि बढ्ने बताए ।