रास्वपाका मन्त्रीहरूको राजीनामाको बारेमा यस्तो भनछन् गृहमन्त्री लामिछाने

७ असार २०८१, बिहीबार १०:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्ति सरकार वा गठबन्धनमा समस्या आएको भन्ने नबुझ्न गृहमन्त्री रवि लामिछानेले आग्रह गरेका छन्।

बिहीबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा राजीनामा पत्र बोकेर हिँडेको कुरा रास्वपाको मूल स्वभाको निरन्तरता रहेको बताए। गृहमन्त्री लामिछानेले भने, “त्यसको मोटिभ हामीले राम्रो काम गर्न सकेनौं भने वा काम गर्न पाइएन, सकिएन भने टाँसिइरहेर बसेर हुँदैन भनेर सुरूवातदेखि नै भनिरहेका छौं। यो रास्वपाको मूल स्वभावको निरन्तरता हो।”

गृहमन्त्री लामिछानेले यी सब कुरा बजेटसँग सम्बन्धित रहेको पनि स्पष्ट पारे। उनले भने, “बजेटमा काम गर्ने तौरतरिका, बजेट निर्माण हुने प्रणाली, मन्त्रीको पनि त्यति पहुँच हुन नसक्ने, त्यसको अभिव्यक्ति हो। त्यसको ब्याख्या चाहीँ सरकार नै समस्यामा पर्‍यो कि भन्ने आयो। त्यस्तो होइन।”

उनले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब रहेको बताए।