कांग्रेसले माग्यो प्रधानमन्त्रीसंग जवाफ

१ असार २०८१, शुक्रबार ११:४९

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेस नेतामाथि लगाएको आरोपमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ माग गरेको छ ।

कांग्रेसले भारत भ्रमणको सम्बन्धमा समेत प्रधानमन्त्रीको जवाफ माग गरेको हो। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्को आगामी बैठकमा प्रधानमन्त्रीको जवाफका लागि रुलिङ गर्न सभामुखसँग माग गरेका हुन् ।

प्रमुख सचेतक लेखकले भने ‘केही समय पहिले गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई लाञ्छनायुक्त अभिव्यक्ति दिनुभएको थियो । यसमा हामीले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छौ । प्रधानमन्त्री धेरै दिनदेखि संसद्‌मा आउनु भएको छैन । तयारी चलिरहेर हो कि ? जवाफ दिन डराएर सदनबाट भाग्नु भएको हो ? ।’

जेठ ६ गते संसद्लाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछानेले देशको गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट संसदमा रहेको बताएका थिए ।कांग्रेसले सरकार प्रमुख र राष्ट्र प्रमुखले विदेश भ्रमण गर्दा संसद्लाई जानकारी गराउने स्थापित परम्परालाई अहिले तोडिनु संसदीय सर्वोच्चताको अपमान भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ।