काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सी र सभामुख देवराज घिमिरेबीच शिष्टाचार भेटर्वाता भएको छ।
बुधबार (आज) बिहान भएको भेटमा सभामुख घिमिरेले ठूलो सङ्ख्यामा नेपाली जनता युएईमा रोजगारीमा रहेकाले रोजगार तथा जीवन सुरक्षालाई विशेष ध्यान दिन अपिल गरेका छन् । युएईमा मात्रै करिब ४ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् ।
उनले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि व्यक्त गरे ।
उनले युएईले स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तन लगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई दिए । उनले भने , ‘युएई राज्य स्थापना भएको केही दशकमै गरेको बृहत्तर प्रगति र समृद्धिका लागि युएईको दूरदर्शी नेतृत्वको प्रशंसा गर्दछु ।’ ।
सभामुखले हालै काठमाडौंमा सम्पन्न तेस्रो नेपाल लगानी शिखर सम्मेलनमा सहभागी भएकोमा युएईलाई धन्यवाद व्यक्त गरे। उनले नेपालबाट अलैंची, चिया लगायतका कृषिजन्य उत्पादन निर्यातको प्रचुर सम्भावना रहेको बताउँदै आवश्यक सहजिकरणको अपिल गरे।
युएईको संघीय राष्ट्रिय काउन्सिलका सभामुखले निकट भविष्यमा नै नेपाल भ्रमण गर्ने युएईका राजदूत अलसाम्सीले जानकारी गराए ।
