झापामा चैते धानले पाएन् बजार, किसान चिन्तित

२९ जेष्ठ २०८१, मंगलवार ०८:४८

काठमाडौं । चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् ।

स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए । उनले खेतमा धान पाकेर अलपत्र परेको बताएका छन् ।

धान स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहेका उनले किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढ्ने बताए । उनले किसानले उत्पादन गरेको धानको उचित व्यवस्थापन सरकारले गर्नुपर्नेमा समेत जोड दिए  करिब तीन बिघा क्षेत्रफलमा चैते धानखेती गरेका कचनकवल–३ का अर्का किसान तोयानाथ मिश्रले यो वर्ष दुई सय ५० मन धान उत्पादन हुने अनुमान गरे ।

उनले भने, ‘सुरुसुरुमा एक हजार दुई सय प्रतिमन धान बिक्री भयो, सबैतिर धान पाक्न थालेपछि अहिले प्रतिमन नौ सय भएको छ । ’ एक बिघाको धान काटेर थुपारेका उनले व्यापारीले धान धेरै भयो, मिलले किन्न मानेन भनेर मूल्य कम दिनुका साथै अहिले बिक्री नै ठप्प भएको बताए ।