गाउँपालिका अध्यक्षमा पराजित सतीशकुमार सिंह मुख्यमन्त्रीमा नियुक्त

२५ जेष्ठ २०८१, शुक्रबार १२:२८

काठमाडौं । सतीशकुमार सिंह मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

संविधानको धारा १६८ को २ बमोजिम शुक्रबार (आज) सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी हुन्। सिंहको नेतृत्वमा सरकार गठनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ५५ सदस्यको समर्थनसहित आजै बिहान दाबी पेस गरिएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनलाई केहीबेरपछि पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।मुख्यमन्त्रीमा नियुक्त सतिश सिंह सप्तरी २ को (१) बाट प्रदेशसभा निर्वाचित भएका हुन् । उनी २०७५ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडीका गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए ।

२०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतको उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।