काठमाण्डौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ कि हुनुहुन्न भनी प्रश्न गरेका छन्।
महामन्त्री शर्माले आज प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले ७० बिघा जमिनको कमिसन खाएको भनेर आरोप लगाएको भन्दै छानबिन गर्न गृहमन्त्रीलाई चुनौती दिएका हुन् । उनले गिरीबन्धुको अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न चुनौती समेत दिएका छन् ।
महामन्त्री शर्माले गृहमन्त्री लामिछानेले गिरीबन्धु टी स्टेटको सम्बन्धमा फाइल खोल्न होइन बोल्न पनि नसक्ने बताए। उनले ओलीले शिक्षामन्त्रीमाथि गरेको टिप्पणीबारेमा पनि पार्टी सभापतिसमेत रहेका गृहमन्त्रीले बोल्न नसकेको बताएका छन्।
महामन्त्री शर्माले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझावसमेत दिए। उनले न्युरोडमा सडकपेटी बढाउनु जरुरी रहेको धारणा राख्दै मेयर बालेन्द्रले ठीक काम गरेका समेत बताए।
