आइसिसी टी २० विश्वकप क्रिकेट उच्च मनोबलका साथ खेल्न राष्ट्रपति पौडेलको शुभकामना

२२ जेष्ठ २०८१, मंगलवार ११:०२

काठमाडौं । आइसिसी टी २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिकामा रहेको नेपाली टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन राष्ट्रपति पौडेलले शुभकामना दिएका हुन् ।

उनले सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् ।

नेपालले टी २० विश्वकप अन्तर्गत आज राति ९ः१५ बजे नेदरल्याण्ड्ससँग खेल्दै छ ।