काठमाडौं । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङ भन्ने ठाउँमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पुर्तिघाट प्रहरी चौकीका अनुसार गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि पाल्पा पठाइएको पुर्तिघाट प्रहरीले जानकारी दिएको छ । जिपमा ७ जना सवार रहेको प्रारम्भिक विवरणमा बताइएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ ।
