काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको छ ।
विद्युत् प्राधिकरणले नदीहरूमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन वृद्धि भएसँगै भारतर्फ विद्युत् निर्यात गर्न सुरु गरिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा ४ सय मेगावाट हाराहारीमा विद्युत् निर्यात भइरहेको बताए ।
उनले भने, “खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ, विगत ७/८ वर्षअघि दैनिक रूपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर ४ र साढे ४ करोड युनिट पुगेको छ ।”
द्विपक्षीय सम्झौता बमोजिम बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४०० हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले बताएका छन् ।
विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत आयोजनाहरूबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ ।
६५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभिभिएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ ।
एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा बिद्युत् खरिद बिक्रीको पनि अनुमति पाएको छ ।
६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
कार्यकारी निर्देशक घिसिङले बाराको पिलुवा सबस्टेसनबाट परवानीपुर सबस्टेसनसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेकाले वीरगन्ज क्षेत्रका उद्योगहरूमा विद्युत् आपूर्तिको केही समस्या रहेको उल्लेख गरे ।
यसैबिच नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेको छ । शुख्खायाम सुरु भएसँग खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट विद्युत् आयात गरिएको हो । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ।
