काठमाडौं । सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिन समितिको कार्यादेशमा अझै सहमति जुट्न सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेर उक्त विषयमा छलफल गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले भेटवार्तामा छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी गोर्खा मिडियाको मात्रै राखेर सहमति गर्न सभापति देउवालाई अनुरोध गरेका थिए । तर सभापति देउवाले प्रधानमन्त्री प्रचण्डको उक्त अनुरोधलाई अस्वीकर गरेको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । सहमहामन्त्री परियारले सत्तारुढ दलका नेताहरुले चलाखीपूर्ण कुरा गरिरहेको बताए ।
कार्यादेशमा सहमति हुन नसकेपछि आजको संसद बैठकमा कांग्रेसको अवरोध कायमै रहने देखिएको छ । आजको प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।
