काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई अमेरिका पठाउन युवा तथा खेलकुद मन्त्रालयले पहल गरेको छ ।
क्रिकेटर सन्दिपलाई विश्वकप खेल्न लागि अमेरिका पठाउन पहल गरिरहेको खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् ।
विहीबार युवा तथा खेलकुदमन्त्री श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँग छलफल भएको छ । छलफल पश्चात् मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको श्रेष्ठको सचिवालयले जानकारी गराएको छ।
यस्तै खेलकुदमन्त्री श्रेष्ठले पनि सन्दीपको भिसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको बताएका छन्। उनले अझै पनि सबै किसिमको सहयोगलाई जारी राख्ने बताए । मन्त्रालयका अनुसार अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा कामकारबाही अगाडि बढाउनेछ ।
लामिछानेले आफूलाई टी–ट्वान्टी विश्वकप खेल्न जाने भिसा अमेरिकाले नदिएको बुधबार जानकारी दिएका थिए । अमेरिकी दूतावासले सो कुरा स्वीकार गर्दै भिजा प्रक्रिया गोप्य हुने भन्दै थप जानकारी दिन अस्वीकार गरेको छ ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै सन्दीपलाई विश्वकप क्रिकेट खेल्न जाने बाटो खुलेको थियो । तर, अमेरिकाले भीसा दिन अस्वीकार गरेको थियो ।
