आम सञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुने

२१ बैशाख २०८१, शुक्रबार १४:१३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुने प्रक्रियामा रहेको बताएकी छिन् ।

(आज) शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै संघीय संसदमा दर्ता भएको बताइन् ।

मन्त्री शर्माले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी रहेको जानकारी गराइन् ।

उनले छाता कानुनका रूपमा आमसञ्चार ऐन बनेपछि सरकारको तर्फबाट आमसञ्चारको व्यवस्थापन र सहजीकरणका लागि छाता निकायका रूपमा आम सञ्चार प्राधिकरण बनाएर मिडियाको प्रवर्द्धन, श्रमजीवी पत्रकारको पेशागत अधिकारको संरक्षण र लोककल्याणकारी कोष सञ्चालनलगायतका काम एउटै निकायबाट अघि बढाउने सरकारको सोच रहेको पनि बताइन् ।

मन्त्री शर्माले कानुन निर्माणका क्रममा राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई मार्गदर्शन मानेर अघि बढिरहेको बताइन् । उनले नयाँ प्रविधिसँगै आएका चुनौतीको सामना गर्न आम सञ्चार नीतिको तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।