नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को छैटौँ बैठक आज नयाँदिल्लीमा बस्दै

२७ पुष २०७४, बिहीबार ०४:४६

पुस २७, काठमाडौं । नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठक आज नयाँदिल्लीमा बस्दै छ ।

बैठकमा १९५० मा हस्ताक्षरित नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन तथा सीमा व्यवस्थापनको मुद्दा टुंग्याउने गरी नेपाल पक्षले प्रस्ताव पेस गर्दै छ ।  बैठकमा सहभागी हुन नेपालतर्फका संयोजक डा. भेषबहादुर थापा र सदस्यहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई बुधबार नयाँदिल्ली गएका छन् । भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू जयन्त प्रसाद, महेन्द्र पी. लामा र बिसी उप्रेती बैठकमा सहभागी हुँदै छन् ।

अघिल्लो बैठकमा बिरामी भएका कारण जयन्त प्रसाद सहभागी भएनन् । निवर्तमान सांसद भए पनि सरकारले अर्को निर्णय नगरेका कारण एमाले नेता डा. भट्टराई बैठकमा सहभागी हुन गएका छन् । सन्धिको धारा २, ५, ६ र ७ सच्याउनुपर्ने नेपाल पक्षको मागमा भारतीय टोली यसअघिको बैठकमा सकारात्मक रूपमा पेस भएको थियो । यसपटक इपिजी सदस्य आचार्यले सन्धिसहित नेपाल–भारत सिमाना व्यवस्थापनबारे नेपालको पछिल्लो अडान प्रस्तुत गर्नेछन् ।

सदस्य उपाध्यायले नेपाल–भारत डुबान नियन्त्रणबारे विगतमा झैँ प्रस्तुतीकरण गर्नेछन् भने सदस्य डा. भट्टाराईले व्यापार तथा पारवहनका विषयमा धारणा राख्नेछन् ।