काठमाडौं । गत सोमबार ९ किलो इलेक्ट्रिक चुरोट (भेप) तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाड्ने तयारी गरिएको छ।
महरा विभिन्न खालको रोग भएकाले उनलाई छाड्ने तयारी रहेको सरकारी वकिल कार्यालय काठमाडौं स्रोतले जनाएको छ। प्रहरीले गत सोमबार महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको थियो।
काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महराको सम्पर्क सुन तस्करका मुख्य नाइके दाओजिन वाङसँग सम्पर्क गरेको देखिएको भन्दै संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो।
पक्राउ परेको चार दिनपछि उनलाई हाजिर जमानीमा छाड्ने तयारी गरिएको हो। गत सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदा न्यायाधीश दुर्गाप्रसाद खनाल समक्ष महराले आफूमा ७/८ वटा रोग भएको बताएका थिए। त्यसपछि अदालतले नै उनलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको थियो।
