माओवादी छोडेका रामकुमार शर्मा जसपामा प्रवेश

९ चैत्र २०८०, शुक्रबार १२:५८

काठमाडौँ । माओवादी केन्द्र छोडेका रामकुमार शर्मा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

उनले हिजो माओवादी पार्टीको सम्पूर्ण जिम्मेवारी छोडेर अलग भएको घोषणा गरेका थिए । नेता शर्मा पार्टीमा राजीनामा दिनुभन्दा पहिला नै जसपाका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरिसकेका स्रोतले जनाएको छ।

अध्यक्ष यादवले नेता शर्मालाई पार्टीको महाधिवेशन अघि नै पार्टीमा आउन आग्रह गरेका थिए । जसपाको महाधिवेशन २०८१ जेठ २७ गतेदेखि जनकपुरमा हुने भनिएको छ ।

जसपाका अध्यक्ष यादवले महाधिवेशन अघि नै आएमा पार्टीमा व्यवस्थापन गर्न सजिलो हुने बताएपछि नेता शर्माले माओवादी छोडेको स्रोतको दाबी छ । नेता शर्माले आफू जसपामा प्रवेश गर्न लागेको कुरा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई पनि जानकारी गराएका थिए ।