नेपालका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन आवश्यक -राष्ट्रपति

१० मंसिर २०७४, आईतवार १०:०७

मंसिर १०, इलाम ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुक नेपालका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन हुनुपर्ने बताएकी छन्।


स्थानीय इलाम चुलाचुली गाउँपालिका–१ कमलमा रहेको महागुरू फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिकोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सबै भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्नु सबैको कर्तव्य भएको बताइन्।

बहुभाषिक पाठशालाको भौतिक पूर्वाधार र शालिक निर्माणमा स्थानीयवासीले गरेको योगदानको उनले प्रशंसा गरिन्। सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्दको शालिकसमेत अनावरण गरिन्।

१६ औं राष्ट्रिय विभूति फाल्गुन्दको स्मृतिमा चुलाचुलीमा बहुभाषिक पाठशाला स्थापना गरिएको छ। विसं २०७२ देखि शुरू गरिएको पाठशालामा ८० बालबालिका अध्ययनरत छन्। किरात लिपिमा पढाइ हुने पाठशालामा सबै जातजातिका बालबालिका निःशुल्क अध्ययनरत छन्।

संघले स्थापना गरेर सञ्चालन गर्दै आएको पाठशालामा अबदेखि संस्कृतसहित अन्य भाषाको पनि पढाइ सञ्चालन गरिने लक्ष्य रहेको पाठशालाले जनाएको छ। पाठशालामा किरात लिपि, नेपाली र अंग्रेजीका तीन शिक्षक रहेको राससले समाचार उल्लेख गरेको छ ।