नेकपा बैठकमा ओलीको जवाफ

१३ पुष २०७५, शुक्रबार १०:४३

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सरकारको आलोचना भए पनि जनताबाट वाहवाही पाएको टिप्पणी गर्नु भएको छ ।केही दिनदेखि बस्दै आएको नेकपा स्थायी कमिटीमा बिहीबार ओलीले नेताहरुले उठाएको प्रश्नको जवाफ दिनु भएको थियो । उहाँले २ घन्टा १० मिनेट सम्बोधन गर्नु भएको थियो । तर, अधिकांश समय आफ्नो नेतृत्वको सरकारको प्रशंशामा खर्चिनु भएको थियो ।उहाँले पार्टीमा एकताको सन्देश दिनुपर्ने र विरोधीहरुको अपेक्षालाई असफल बनाउनुपर्नेमा जोड दिनु भएको छ । आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष भइरहेको र अब प्राप्त गर्नुपर्ने केही नरहेको तथा नियतबस कुनै गल्ती नगरेको स्पष्टीकरण दिनु भएको छ ।

०५१ सालमा गृहमन्त्री हुँदा पनि आफ्नो कामको जनताले प्रशंशा गरेको र पहिलोपटक प्रधानमन्त्री हुँदा पनि जनताबाट वाहवाही पाएको उहाँले सुनाउनु भयो । ‘अहिले पार्टीमा आलोचना भएको छ तर, जनतामा वाहवाही नै छ’, उहाँले भन्नु भयो ।उहाँले पहिलोपटक प्रधानमन्त्री हुँदा आफूलाई हटाउन कोको लागेका थिए भन्ने पनि जानकार रहेको बताउनु भयो । सरकारका मन्त्रीहरुले भ्रष्टाचार, अनियमिता नगरेको, बरु प्रधानमन्त्री तहबाट भ्रष्टाचारविरुद्ध स्टिङ अपरेशन चलाइएको दाबी गर्नु भएको छ ।निर्मला हत्या प्रकरणमा सुरुमा केही कमजोरी भए पनि अहिले प्रभावकारी रुपमा छानविन भइरहेको र आवश्यक परेकाहरुको डीएनए टेष्ट गरेर भएपनि दोषी पत्ता लगाउने बताउनु भयो ।