सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेर रद्द गरिएको विषयले संसदीय समितिको ध्यान तानेको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ठेक्का रद्द गर्नुको कारण र त्यससँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।
मंगलबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो।
आयोजनाको ठेक्का रद्द गरिएको विषयमा समितिमा उजुरी परेको थियो। उजुरीमा बोलपत्रका सबै प्रक्रिया पूरा भई आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगिसकेको अवस्थामा अन्तिम समयमा ठेक्का रद्द गरिएको भन्दै प्रश्न उठाइएको छ।
उजुरीकर्ताले यस्तो निर्णयले राज्यलाई आर्थिक क्षति पुग्नुका साथै राष्ट्रिय महत्त्वको आयोजना निर्माणमा थप ढिलाइ हुने दाबी गरेका छन्।
सुनकोसी–मरिण डाइभर्सन आयोजनाले बाँध, विद्युत्गृह तथा अन्य सम्बन्धित संरचना निर्माणका लागि गत जुन ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। उक्त ठेक्कामा सहभागी कम्पनीमध्ये तीनवटा कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका थिए।
तर, उनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कात्तिक दोस्रो साता आयोजनाले एकाएक बोलपत्र प्रक्रिया रद्द गरेको थियो।
आयोजनाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ को उपदफा (२) लाई आधार बनाउँदै ठेक्का रद्द गरिएको सार्वजनिक सूचना जारी गरे पनि त्यसको विस्तृत कारण भने खुलाएको थिएन।
यता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने ठेक्का प्रक्रिया प्रचलित ऐन तथा नियमावलीविपरीत भएको पाइएपछि रद्द गरिएको स्पष्टीकरण दिएको थियो।
ठेक्का रद्दको निर्णयमाथि प्रश्न उठेपछि अब सार्वजनिक लेखा समितिले मागेका कागजातबाट उक्त निर्णयको वास्तविक आधार, प्रक्रिया र सम्भावित आर्थिक प्रभावबारे थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।
