अयोध्याबाट १ हजारभन्दा बढी तीर्थयात्री बोकेको रेल जनकपुरधाम आइपुग्यो

९ मंसिर २०८३, मंगलवार १०:१९

भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट जनकपुरधामका लागि छुटेको सरयू–कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। रेलमा सवार एक हजारभन्दा बढी तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ।

जनकपुरधामस्थित रेल्वे स्टेशनमा पुगेको रेल तथा तीर्थयात्रीहरूको स्वागत गर्न सरकारी प्रतिनिधि, स्थानीयवासी तथा सर्वसाधारण नेपाल र भारतका राष्ट्रिय झण्डासहित उपस्थित भएका थिए। उनीहरूले फूलमाला लगाएर तीर्थयात्रीहरूलाई स्वागत गरेका थिए।

प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीबाट प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा झण्डा देखाएर रेललाई अयोध्याबाट जनकपुरधामका लागि बिदाइ गरेका थिए।

नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनमा ल्याइएको हो। यस सेवाले दुई देशबीचको धार्मिक पर्यटन तथा तीर्थाटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

धार्मिक मान्यताअनुसार अयोध्या भगवान् रामको जन्मभूमि तथा माता सीताको ससुराली हो भने जनकपुरधाम माता सीताको जन्मभूमि र भगवान् रामको ससुरालीका रूपमा परिचित छ। यी दुई धार्मिक नगरीलाई रेल सेवामार्फत जोडिनुले त्रेतायुगदेखिको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सरयू–कमला एक्सप्रेसका १७ वटा डब्बामा एक हजारभन्दा बढी तीर्थयात्री जनकपुरधाम आइपुगेका छन्। उनीहरूलाई रेल्वे स्टेशनसँगै विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको छ।

जनकपुरधाम पुगेका तीर्थयात्रीले जानकी मन्दिरलगायत धार्मिक स्थलमा पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम रहेको छ। उनीहरूको स्वागत तथा दर्शनको व्यवस्थापनका लागि जानकी मन्दिरले समेत आवश्यक तयारी गरेको छ।

तीर्थयात्रीहरूलाई जनकपुरधामको धार्मिक तथा सांस्कृतिक क्षेत्र अवलोकनका लागि करिब तीन घण्टाको समय दिइएको छ। दिउँसो १२ः३० बजेसम्म रेल्वे स्टेशन फर्किनुपर्ने र खाजा खुवाएर उनीहरूलाई पुनः अयोध्याका लागि बिदाइ गर्ने कार्यक्रम रहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ। रेल दिउँसो १ बजेसम्म फर्किने तालिका छ।

तीर्थयात्रीको आगमनलाई मध्यनजर गर्दै जनकपुरधाम रेल्वे स्टेशन तथा जानकी मन्दिर परिसरमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।