आज मोदीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन, यी विषयमा हुँदैछ महत्वपूर्ण छलफल

८ मंसिर २०८३, सोमबार ०९:०७

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने भएका छन्। नेपालको प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो औपचारिक भारत भ्रमण हो। दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने तथा आर्थिक र विकास साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा भेटवार्ताका क्रममा छलफल हुने अपेक्षा गरिएको छ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा हुने भेटवार्ताअघि प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा विशेष समारोहका बीच औपचारिक स्वागत गरिनेछ। त्यसक्रममा उनलाई गार्ड अफ अनरसमेत प्रदान गरिने कार्यक्रम छ। त्यसपछि उनले राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन्।

निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले बिहान ११ बजे मोदीसँग भेटवार्ता गर्नेछन्। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ। भेटवार्तापछि विभिन्न समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान गर्ने र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रमसमेत रहेको छ।

के–के विषयमा हुँदैछ छलफल ?

यस भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ सहकार्यको आधार तयार गर्ने अवसरका रूपमा हेरिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भेटवार्तामा आर्थिक साझेदारी, व्यापार, ऊर्जा, जलविद्युत्, पूर्वाधार विकास, हवाई तथा रेल कनेक्टिभिटी र प्रविधिसम्बन्धी विषयले प्राथमिकता पाउनेछन्।

विशेषगरी गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतसँग आर्थिक सहयोग जुटाउने विषय पनि महत्वपूर्ण एजेन्डामा रहने अपेक्षा गरिएको छ। नेपालले पुनर्निर्माणका लागि भारतसँग ठूलो आर्थिक सहायता खोजिरहेको विषय भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

त्यस्तै, अयोध्या र जनकपुरबीच रेल सेवा सञ्चालन, नयाँ हवाई प्रवेशमार्ग, ऊर्जा व्यापार विस्तार तथा सीमापार पूर्वाधार विकासका विषयमा पनि छलफल हुने बताइएको छ।

विकास आयोजनाको उद्घाटन र नयाँ सहमतिको तयारी

भेटवार्तापछि दुवै प्रधानमन्त्रीले केही सम्पन्न विकास आयोजनाको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा अयोध्या–जनकपुर रेल सेवा, प्रहरी एकेडेमी र एकीकृत जाँचचौकीलगायतका परियोजना समेटिएका छन्। साथै, अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्ने तयारीसमेत रहेको छ।

ऊर्जा तथा जलविद्युत् क्षेत्रमा सहकार्य विस्तार, व्यापारिक सम्बन्ध सुदृढीकरण र नेपालमा भारतीय लगानी भित्र्याउने विषयलाई पनि यस भ्रमणले विशेष महत्व दिने देखिन्छ।

जयशंकरसँग भेट, राष्ट्रपति मुर्मूसँग पनि शिष्टाचार भेट

प्रधानमन्त्री शाहले आइतबार साँझ भारतका विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरिसकेका छन्। उक्त भेटमा दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा, खेलकुद र जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी, प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

दुईदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँग अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित सरकारी अधिकारी तथा अन्य प्रतिनिधिहरू सहभागी छन्।

नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको यस भ्रमणबाट कस्ता महत्वपूर्ण सहमति र उपलब्धि हासिल हुन्छन् भन्ने चासो दुवै देशमा बढेको छ।