एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

६ मंसिर २०८३, शनिबार ०९:४५

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले आज नयाँ च्याम्पियन पाउँदैछ कि लुम्बिनी लायन्सले उपाधि रक्षा गर्नेछ भन्ने टुंगो लाग्दैछ। उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज फाइनलमा आमनेसामने हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ। लगातार दोस्रो पटक फाइनलमा भिड्न लागेका यी दुई टोलीबीचको प्रतिस्पर्धालाई यसपटक पनि निकै रोमाञ्चक रूपमा हेरिएको छ।

गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले पहिलो पटक उपाधि जितेको थियो। त्यसैले यसपटक पनि सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जोगाउने लक्ष्यमा लुम्बिनी छ। यता, लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम भने विगतका हारको बदला लिँदै पहिलो उपाधि उचाल्ने दाउमा छ।

लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरबाटै फाइनल पुगेको हो। पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराएको थियो। लिग चरणको भेटमा पनि लुम्बिनीले सुदूरपश्चिममाथि ७ विकेटको जित निकालेको थियो।

पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। लिग चरणमा १० अंकसहित दोस्रो भएको सुदूरपश्चिम लगातार तेस्रो पटक उपाधि भिडन्तमा पुगेको टोली हो।

सुदूरपश्चिम यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनीसँग पराजित भएको थियो। लगातार दुई फाइनलमा उपाधि जित्न नसकेको टोली यसपटक त्यो इतिहास बदल्ने लक्ष्यमा छ।

लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा दुवै टोलीमा अनुभवी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी छन्। अब आजको फाइनलले लुम्बिनीलाई लगातार दोस्रो उपाधि दिलाउँछ वा सुदूरपश्चिमको वर्षौंदेखिको प्रतीक्षा अन्त्य गर्छ भन्ने निर्णय गर्नेछ।