शुक्रबारको बिहानी नेपाली सुनचाँदी बजारका लागि एकाएक चकित पार्ने खबर लिएर आयो। लामो समयदेखि महँगीको चापमा थिचिएका सर्वसाधारण, विवाहको सिजन कुरिरहेका परिवार र लगानीकर्ताका आँखा आज एउटै अङ्कमा अडिएका छन्- प्रतितोला १२ हजार २०० रुपैयाँको भारी गिरावट!
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ मा झरेको छ, जबकि बिहीबार मात्र यो २ लाख ५७ हजार ६०० रुपैयाँ मा कारोबार भइरहेको थियो। सुनसँगै चाँदीको भाउमा पनि प्रतितोला २२५ रुपैयाँ ले घटेर ३ हजार ११० रुपैयाँ कायम भएको छ (बिहीबार ३ हजार ३३५ रुपैयाँ थियो)।
पछिल्ला साताहरूमा निरन्तर ओरालो लागिरहेको सुनको भाउले आज एकैपटक ठूलो छलाङ मार्दै तल झरेपछि बजारमा अनेकौँ अड्कलबाजी र जिज्ञासा सुरु भएका छन्:
-
गहना किन्नेहरूको आशा: महँगीले गर्दा गहना बनाउने रहर साँचेर बसेका धेरैका लागि यो गिरावटले केही राहतको सास फेर्ने मौका दिएको छ। तर प्रश्न उठ्छ- के यो सस्तोपन लामो समय टिक्ला ?
-
लगानीकर्ताको दोधार: सुनमा सुरक्षित लगानी गरेकाहरू मूल्य घट्दा चिन्तित देखिएका छन् भने नयाँ लगानी गर्न खोज्नेहरू “अझै घट्छ कि?” भन्ने कौतूहलमा पर्ख र हेरको अवस्थामा छन्।
