गोरखाको चुमनुब्री गाउँपालिका–६ मा पहिरोका कारण थुनिएको खोला फुट्दा आज बिहान आकस्मिक बाढी आएको छ। बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्तीहरू उच्च जोखिममा परेका छन् भने कतिपय स्थानीयहरू विस्थापित भएका छन्।
गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रका अनुसार आज बिहान ४ बजेर ३५ मिनेट जाँदा बाढी आएको खबर प्राप्त भएको थियो। प्रजिअ मिश्रले हालसम्म मानवीय क्षतिको कुनै पनि विवरण नआएको जानकारी दिएका छन्। बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र सम्भावित उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले चुम्के खोलामा पहिरो खसेर केही समय खोला थुनिएका कारण अचानक ठूलो बाढी आएको पुष्टि गरेका छन्। बाढीका कारण तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार क्षेत्रमा गम्भीर जोखिम निम्तिएको स्थानीयले बताएका छन्। जोखिम बढेसँगै स्थानीयहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्।
घटनालगत्तै जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढीको जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई लक्षित गरी सतर्कता अपनाउन एसएमएस (SMS) मार्फत सचेत गराएको छ।
भौगोलिक विकटता र सञ्चार सम्पर्कमा देखिएको कठिनाइले गर्दा क्षतिको पूर्ण विवरण आउन बाँकी छ। स्थानीय प्रशासन र सुरक्षा निकायले तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई नदी किनारबाट टाढा रहन र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
