पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान तीव्र: निकटस्थका घरमा छापा, उच्च अधिकारीसमेत तानिए

२१ आश्विन २०८३, बुधबार १७:४१

 पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान थप कडा र व्यापक बनाइएको छ। अनुसन्धानकै क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको संयुक्त टोलीले जबराको महाराजगञ्जस्थित निवासका साथै उनीसँग निकट सम्बन्ध रहेका विभिन्न व्यक्तिहरूका घरमा छापा मारेको छ।

स्रोतका अनुसार, अनुसन्धान टोलीले जबरासँग नियमित सम्पर्कमा रहेका व्यक्तिहरूको शंकास्पद आर्थिक कारोबार, उनीहरूसँगको व्यावसायिक तथा व्यक्तिगत सम्बन्धलाई प्रमुख आधार बनाएर छानबिन अघि बढाएको हो।

को-को छन् अनुसन्धान र छापाको घेरामा ?

विभागको टोलीले जबराका परिवारका सदस्यहरूसहित उनका निकट मानिएका नवीन बस्नेत, दीपक तिमल्सिना र नारायण दाहाल लगायतका निवासमा पुगेर आवश्यक कागजात तथा प्रमाण संकलन गरिरहेको छ। यसका साथै जबरासँग नियमित सम्पर्कमा रहेका केही कानुन व्यवसायी तथा अन्य व्यावसायिक व्यक्तिहरूलाई पनि कडा निगरानीमा राखिएको छ।

छानबिन टोली अचानक निवासमा पुग्दा केही घरमा ताला लागेको अवस्था भेटिएको थियो भने कतिपय स्थानमा परिवारका महिला तथा ज्येष्ठ नागरिक मात्र उपस्थित थिए। अनुसन्धान टोलीले सम्बन्धित व्यक्तिहरूको मोबाइल, सञ्चार विवरण तथा आर्थिक कारोबारसँग जोडिएका प्रमाणहरू नियन्त्रणमा लिएर अध्ययन थालेको छ।

इनम सापकोटाको मोबाइलबाट खुल्यो लहरो

यसअघि जबरा र जेलमा रहेका विवादित व्यवसायी दीपक भट्टबीच सम्बन्ध गराउन बिचौलियाको भूमिका खेलेको आरोपमा इनम सापकोटा पक्राउ परेका थिए। सापकोटाको मोबाइल नियन्त्रणमा लिएर प्राविधिक विश्लेषण गर्दा जबरासँग जोडिएका थप आर्थिक गतिविधि र सञ्जालको रहस्य खुलेको स्रोतको दाबी छ।

यही अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा सशस्त्र प्रहरी बलका एआईजी वंशी राज दाहालसमेत निलम्बनमा परिसकेका छन्। यसले अनुसन्धान केवल पूर्वप्रधानन्यायाधीशमा मात्र सीमित नरही उच्च सुरक्षा अधिकारी तथा व्यवसायीहरूसम्म फैलिएको पुष्टि गर्छ।

मध्यरातिको ‘नियन्त्रण’ पछि बढेको हलचल

केही समयअघि सरकारले जबरालाई मध्यराति उनको निवासबाटै नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो। यद्यपि, त्यतिबेला सरकारले उनलाई पक्राउ नगरि ‘सुरक्षा व्यवस्था’का लागि नियन्त्रणमा लिइएको दाबी गरेको थियो।

तर, पछिल्ला घटनाक्रम, निवासमा मारिएको छापा र निकटस्थहरूमाथि भइरहेको कारबाहीले जबरामाथिको गैरकानुनी सम्पत्ति आर्जन र शुद्धीकरणसम्बन्धी छानबिन गहिरो बन्दै गएको देखाउँछ। अनुसन्धान टोलीका अनुसार छानबिनको दायरा अझै फराकिलो बन्दै जाने र थप व्यक्ति तथा कारोबारका विवरणहरू सार्वजनिक हुने सम्भावना रहेको छ।