दसैँमा काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुलाई लक्षित गर्दै यातायात व्यवस्था विभाग र सरोकारवाला निकायबिचको उच्चस्तरीय बैठकले आगामी शुक्रबारदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।
यस वर्ष वर्षात्का कारण आएको बाढीपहिरोले राजमार्गहरू क्षतिग्रस्त भएकाले विगतका वर्षभन्दा अग्रिम टिकट बुकिङ केही ढिला खुला गरिएको हो।
दसैँको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन यातायात व्यवस्था विभाग तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गरेका प्रमुख निर्णयहरू र यात्रुले ध्यान दिनुपर्ने विवरण यस प्रकार छन्:
१. पूर्णिमासम्म देशैभर रुट परमिट खुला
घटस्थापना (असोज २५ गते) देखि पूर्णिमासम्मका लागि नेपालभर चल्ने सार्वजनिक सवारी साधनका लागि रुट परमिट खुला गरिएको छ। यद्यपि, बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका ठुला आकारका सवारी साधनलाई भने सम्बन्धित बाटोमा बन्देज कायमै रहनेछ।
२. नारायणगढ–काठमाडौँ खण्डमा ठुला मालवाहक सवारी सञ्चालनमा रोक
सडकमा यात्रुवाहक सवारीको चाप सहज बनाउन असोज २५ देखि कात्तिक ८ गते (घटस्थापनादेखि पूर्णिमा) सम्म नारायणगढ–काठमाडौँ रुटमा ट्रेलरलगायत ठुला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। तर, औषधी, खाद्य सामग्री, फलफूल जस्ता अत्यावश्यक वस्तु बोकेका सवारी साधन भने निर्वाध रूपमा चल्न पाउनेछन्।
३. तोकिएका काउन्टरबाट मात्र टिकट लिन आग्रह
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार यात्रुले नयाँ बसपार्क, चाबहिल, बल्खु, कोटेश्वर लगायतका आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट काट्न सक्नेछन्। ठगी र अनियमितताबाट बच्न आधिकारिक काउन्टरबाट मात्र टिकट लिन र टिकटमा यात्रुको नाम तथा सम्पर्क नम्बर अनिवार्य दर्ता गराउन आग्रह गरिएको छ।
४. भाडादरमा निगरानी र नागरिक सहायता कक्ष
चाडपर्वको मौका छोपी बढी भाडा असुल्ने, कालोबजारी गर्ने वा टिकटमा अनियमितता गर्नेमाथि कडा कानुनी कारबाही गरिने यातायात व्यवस्था विभागले जनाएको छ। यात्रुको सहयोग र गुनासो सुनुवाइका लागि काठमाडौँका प्रमुख नाका तथा बसपार्कहरूमा १४ वटा नागरिक सहायता कक्ष (Passenger Help Desk) सञ्चालन गरिनेछ।
५. यात्रामा सुरक्षा कडाइ र दुई चालक अनिवार्य
लामो दुरीका यात्रुवाहक सवारी साधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्नेछ। साथै टिकट काउन्टरमा बस्ने कर्मचारीले परिचयपत्र र पोसाक (युनिफर्म) लगाउनुपर्नेछ। सवारी साधनभित्र प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रक उपकरण र पिउने पानीको व्यवस्था अनिवार्य गरिएको छ।
६. सडक अवरुद्ध भए तत्काल खुलाउने तयारी
पहिरो वा वर्षाका कारण राजमार्ग जुनसुकै बेला अवरुद्ध हुन सक्ने भएकाले जोखिमपूर्ण स्थानहरूमा डोजर तथा जनशक्ति तैनाथ राखिनेछ। भत्केको सडक मर्मतसम्भार गर्ने र ट्र्याक खोलेर भए पनि यातायात सुचारु राखिने विभागले प्रतिबद्धता जनाएको छ।
७. केन्द्रीय सूचना केन्द्र सञ्चालन
राजमार्गको अवस्था, सम्भावित अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न महासङ्घले केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने भएको छ। यसले यात्रु तथा चालकलाई सडकको अद्यावधिक स्थिति जान्न सहज बनाउनेछ।
८. यसपालि १५ लाख यात्रु बाहिरिने अनुमान
विगतका वर्षहरूमा दसैँ मनाउन १८ देखि २० लाख यात्रुले उपत्यका छाड्ने गरेकामा यसपालि सडकको अवस्था र प्राकृतिक विपत्तिका कारण करिब १५ लाख यात्रु मात्र बाहिरिने अनुमान गरिएको छ। उपत्यकाबाट मुख्यतया नागढुङ्गा, कोटेश्वर, बल्खु र टोखा रुट हुँदै सवारी साधन बाहिरिनेछन्।
९. जोखिमपूर्ण यात्रामा सतर्कता अपनाउन आग्रह
भोटेकोशीको बाढी र देशका विभिन्न भागमा खसेको सुक्खा पहिरोका कारण यात्रा अझै पनि जोखिमपूर्ण रहेकाले अत्यावश्यक काम परेका यात्रुलाई मात्र यात्रा गर्न र पूर्ण सुरक्षा सतर्कता अपनाउन यातायात व्यवसायीहरूले अनुरोध गरेका छन्।
