नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ। पार्टीको १५औँ महाधिवेशनलाई लिएर संस्थापन पक्ष र इतर समूहले छुट्टाछुट्टै कार्यतालिका लागू गरेपछि देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक दल एउटै नाम र झन्डामुनि दुईवटा महाधिवेशन गर्ने स्थितिमा पुगेको हो।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको संस्थापन पक्षले केही दिन अघिदेखि नै वडा तथा क्षेत्रीय अधिवेशनहरू सञ्चालन गरी महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। अर्कोतर्फ पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने बिहीबार (असोज १५) देखि देशैभर समानान्तर वडा अधिवेशन सुरु गरेको घोषणा गरेको छ।
दुवै पक्षको आ-आफ्नै अडान
गगन थापा नेतृत्वको संस्थापन पक्षले विशेष महाधिवेशनमार्फत विधान संशोधन गरी केन्द्रीय सभापतिदेखि शीर्ष नेताहरूसम्म सबै तल्लो तह (वडा) बाटै चुनिएर आउनुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ। यही प्रक्रियाअनुसार सभापति थापा काठमाडौँ-४ बाट र उपसभापति विश्वप्रकाश शर्मा झापा-१ बाट प्रतिनिधि चुनिएका छन्।
यता, देउवा समूहले भने १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै आएको छ। पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको सो समूहले असोज २० मा पालिका, असोज २३ मा प्रदेशसभा र मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका निर्वाचन आयोगमा बुझाइसकेको छ।
सर्वोच्च र निर्वाचन आयोगको मुख ताक्दै
देउवा पक्षले आयोगमा समानान्तर कार्यतालिका पेस गर्दै महाधिवेशनपछि निर्वाचित हुने नयाँ नेतृत्वको नामावली दर्ता गराउने जनाएको छ। उता, संस्थापन पक्षले भने ९ लाखभन्दा बढी क्रियाशील सदस्यहरू वैधानिक प्रक्रियामा सहभागी भइसकेकाले समानान्तर गतिविधिलाई मान्यता दिन नमिल्ने दाबी गरेको छ।
पार्टीको आधिकारिकताको विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला र निर्वाचन आयोगको कदमले नै कांग्रेसको भावी राजनीतिक दिशा र सम्भावित विभाजनको औपचारिकता तय गर्ने विश्लेषण गरिएको छ।
